बाजुरा- नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो र दोस्रो संस्करणमा उप विजेता बनेको सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणमा विजेता बनेसंगै सुदूरपश्चिमका ९ वटै जिल्लामा ट्रफी टुरको यात्रा सुरु गरेको छ ।
अछामको बैजनाथ धामबाट आइतबार विहान पुजा गर्दै मन्दिर परिक्रमा र साँफेबगर बजार परिक्रमापछि बाजुरा पुगेको ट्रफी मार्तडीको मालिका मन्दिरमा लगेर पुजाआराधाना गरिएको थियो ।
रोयल्सले मार्तडी बजार परिक्रममा गरी खुलामञ्चमा ट्रफी प्रर्दशनमा राखिएको थियो । तेस्रो सिजनमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरी पहिलो पटक ट्रफी टुर मार्तडीमा हुने खबरपछि समर्थकहरुको भने भीड लागेको थियो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक(सिइओ) प्रकाश खड्काले बाजुराले दिएको माया र समर्थनले थप हौसला प्रदान भएको प्रतिक्रिया दिएका छन् ।
उनले भने–“बाजुराको भीड मात्र होइन,तपाईहरुको माया देखेर मन नै भावुक भयो । यो अपार साथ,माया र उत्साहका लागि बाजुरालाई धन्यवाद ।”
सुदूरपश्चिम रोयल्सको टिमलाई बडीमालिका नगरपालिकाले बाजगाजा सहित बजार परिक्रमा गराउँदै स्थानीय संस्कृति प्रदेशन गरिएको छ ।
उत्सवमा बाजुराको मौलिक कला, संस्कृति र पहिचान–हुर्केउली, दमाहा, पञ्चेबाजा, भुवा, चाली, अनन्ते र देउडाले विजय यात्रालाई अझ गौरवपूर्ण बनाइएको छ ।
स्थानीय बाजा सहितको संयोजन बडीमालिका नगरपालिकाले गर्ने र क्रिकेट संघ बाजुरा र क्रिकेटप्रेमीहरू भव्य स्वागतको तयारीमा जुटेका छन् र
यो केवल ट्रफीको यात्रा होइन, भूगोल जोड्ने, भावना जगाउने र सुदूरपश्चिमको एकता एवं पहिचान उजागर गर्ने उत्सवमा रुपमा लिइएको छ ।
सुदूरपश्चिम रोयल्सले एकसाता अघि प्रदेशका ९ वटै जिल्लामा ट्रफी टुर गर्ने तालिका सार्वजनिक गरेको थियो । सोही अनुसार आज बाजुरामा ट्रफी पुर्याइएको हो ।
सार्वजनिक कार्यतालिकाअनुसार आगामी मंसिर १३ गते अर्तात आजबाट अछाम र बाजुराबाट सुरु हुने ‘च्याम्पियन्स ट्रफी टूर’ मंसिर २० गते कैलालीको धनगढीमा भव्य सांगीतिक कन्सर्टसहित समापन हुनेछ ।
यसपटकको ट्रफी टूरको मुख्य विशेषता भनेको सुदूरपश्चिमका प्रसिद्ध धार्मिक क्षेत्र तथा शक्तिपीठहरूमा ट्रफी पु¥याइनु हो । खेलकुदको विजयलाई प्रदेशको मौलिक संस्कृति, आस्था र पर्यटनसँग जोड्दै टूरको सुरुवात नै मन्दिर दर्शन र पूजाआजाबाट गरिँदै छ ।
मंसिर १३ गते बिहान ८ ः ३० बजे अछामको प्रसिद्ध बैजनाथ मन्दिरमा ट्रफी दर्शन र साँफेबगरसम्मको ¥यालीबाट सुरु हुने यात्रा सोही दिन दिउँसो बाजुराको मार्तडी पुगेको हो ।
त्यसपछि मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिर र डडेल्धुराको उग्रतारा मन्दिर, मंसिर १५ गते बैतडीको निङ्गलाशैनी, मंसिर १६ गते दार्चुलाको मालिकार्जुन, मंसिर १७ गते बझाङको चैनपुर र मंसिर १८ गते डडेल्धुराको परशुराम धाम हुँदै ट्रफी तराई झर्नेछ । मंसिर १९ गते कैलालीको टीकापुर, चिसापानी, लम्की, घोडाघोडी, अत्तरिया र कञ्चनपुरको महेन्द्रनगरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ट्रफी पु¥याइनेछ ।
धार्मिक र खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले शक्तिपीठहरूमा ट्रफी लैजाने योजना बनाइएको छ । ‘विशेषगरी सुदूरपश्चिमका धार्मिक क्षेत्र र शक्तिपीठमा ट्रफी घुमाउने योजना छ । जसमा सबैको आस्था र विश्वास जोडिएको छ,’ शाहले भने, ‘हामीले पहिलो सिजनमै जितेपछि सबै जिल्लामा ट्रफी घुमाउँछौं भनेका थियौं, अहिले धार्मिक र खेल पर्यटनलाई विशेष जोड दिएर त्यो वाचा पूरा गर्दै छौं ।’
टूरमा खेलाडी र व्यवस्थापनको टोली सहभागी हुने र यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले जानकारी दिए । सुदूरपश्चिमका नौ वटै जिल्ला क्रिकेटको उर्वर भूमि भएकाले यो सम्मान रोयल्सका खेलाडीका लागि मात्र नभई एनपीएलका अन्य टिमबाट खेल्ने सुदूरपश्चिमका सबै खेलाडी र समर्थकप्रतिको कदर भएको मालिक स्वतन्त्र प्रताप शाहले बताएका छन् ।
बाजुराबाट रोयल्सको टिम आज नै डोटी प्रस्थान गरेको छ ।
मार्तडीमा भव्य स्वागत
तेस्रो सिजनको विजेता बनेको सुदूरपश्चिम रोयल्सलाई बाजुरामा भव्य स्वागत गरिएको छ ।
बाजुरा आउने टोलीलाई बडीमालिका नगरपालिकाले विशेष सम्मान सहित मायाको चिनो प्रदान संगै स्वागत गरेको हो ।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता बन्न सफल सुदुरपश्चिम टिमलाई सुदूरपश्चिम प्रदेशको गौरवका रूपमा लिइएको छ। टोलीको उत्कृष्ट खेल प्रदर्शनसंगै ऐतिहासिक सफलताले सुदूरपश्चिम प्रदेश मात्र नभई सम्पूर्ण नेपाली क्रिकेट जगतको शिर उच्च बनाएको भन्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले शुभकामना व्यक्त गरेका छन् । सुदूरपश्चिम रोयल्सको यो सफलता केवल खेलकुदको जित मात्र नभई सुदूरपश्चिमको पहिचान, गौरव र सम्भावनालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उपलब्धिका रूपमा समेत हेरिएको उनले बताए ।
जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय युवा खेलाडीहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको बाजुराबासीले बताएका छन ।