November 20, 2026 | शुक्रबार, मंसिर ५, २०८३

बाजुरामा बृहत् भेडा तथा बाख्रापालन कार्यक्रमका लागि पाँच अर्ब एसियाली बिकास बैंकले लगानी गर्ने

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर ५, २०८३ 00:३0
बाजुरामा बृहत् भेडा तथा बाख्रापालन कार्यक्रमका लागि पाँच अर्ब  एसियाली  बिकास बैंकले लगानी  गर्ने

सेतीकर्णाली खबर  शारदा शाही कार्तिक ४ बाजुरा – बाजुरामा भेडा तथा बाख्रापालन व्यवसायलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममार्फत किसानलाई आर्थिक सहयोगदेखि उत्पादनको बजार, बीमा, गोठ निर्माण र पशु उपचारसम्मका सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
ADB (एसियाली विकास बैंक) को आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रमले भेडा तथा बाख्रापालनमा इच्छुक किसानलाई व्यवसाय विस्तारका लागि आवश्यक अनुदान तथा सहयोग कृषि बिकास बैँक बाजुराबाट  उपलब्ध गराउने लक्ष्य रहेको स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास साखा अधिकृत बिनोद शाहीले सेतीकर्णाली खबरलाई बताउनु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वअर्थमन्त्री नरेशकुमार शाहीको अवधारणा र पहलमा कार्यक्रमका लागि करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ ।
भेडा तथा बाख्राबाट उत्पादन हुने ऊन, मासु र मलको बिक्री तथा बजारीकरणलाई समेत ध्यानमा राखेर पूर्वमन्त्री शाहीले कार्यक्रमको अवधारणा गर्नु भएको हो ।

सोही अवधारणाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकालाई समेटेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

कार्यक्रमबारे जानकारी दिन हिजो अस्ति जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पूर्वमन्त्री शाही, एसियाली विकास बैंकका आर्नोड हेडकुक, अरुणा राणा र सञ्जय कक्षपतिलगायतको उपस्थिति रहेको स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास साखा प्रमुख बिनोद शाहीले सेतीकर्णाली खबरलाई बताउनु भयो।  

कार्यक्रममा हिमालि, बुढिनन्दा नगरपालिका ,स्वामिकार्तिक र जगन्नाथमा बृहत् भेडा तथा बाख्रापालन कार्यक्रमले बाजुराको आर्थिक समृद्धिको आधार बन्ने हिमाली गाउपालिका अध्यक्ष गोबिन्द मल्लको भनाइ रहेको छ ।
बाजुरा भेडापालनका लागि उपयुक्त चरन क्षेत्र, स्थानीय अनुभव र परम्परागत सीप भएको जिल्ला हो । यहाँका जनजाति भोटे समुदाय र कुन्ना क्षेत्रका  धेरै परिवार पुस्तौँ देखि भेडापालन व्यवसायमा निर्भर रहँदै आएका छन् ।

भेडा पालन किसान लाई समाजमा होच्याउने, भेडी गोठाला भनेर हेप्ने परम्परा पनि कायम रहेको र सामुदायिक बन उपभोक्ता समितिले चरिचरन गर्न रोकावट गर्दै आएकोले कानुनि बाधा अडचन फूकाउनु पर्ने कुरा स्वामिकार्तिक गाउपालिका ५ वडाका भेडावाख्रा पालक किसान देबिचन्द शाहीले सेतीकर्णाली खबरलाई बताउनु भयो ।उचित बजार, पशु स्वास्थ्य सेवा, लगानी र बीमाको अभावमा किसानले यस व्यवसायबाट मनग्ये फाइदा लिन नसकेको देखिन्छ।

लामो समयदेखि बाजुराका किसानले परम्परागत रूपमा गर्दै आएको भेडा तथा बाख्रापालन व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो,’ पूर्वअर्थमन्त्री नरेश शाहीले ‘अब बाजुरालाई छिटो समृद्ध बनाउन फलफूल खेती र भेडाबाख्रा पालन व्यवसाय गर्दा बाजुरा गरिबी र अभावको अग्रपंक्तिमा नदेखिने कुरा स्पस्ट पार्नु भयो।प्रदेश सांसद शाहीका अनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए भेडा तथा बाख्रापालनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना, किसानको आयआर्जन वृद्धि र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने निकै सम्भावना छ।


कार्यक्रमअन्तर्गत भेडा तथा बाख्रापालनमा संलग्न र यस व्यवसायमा लाग्न इच्छुक किसानलाई आर्थिक अनुदान उपलब्ध गराउने योजना अघि सारिएको  छ । त्यसैगरी किसानले उत्पादन गरेको ऊन खरिद गर्ने, भेडाको मासु संकलन तथा बजारीकरण गर्ने र पशुमलको उपयोग तथा बिक्रीका लागि समेत आवश्यक व्यवस्था मिलाइनेछ ।
विशेषगरी भेडापालक किसानले उत्पादन गरेको ऊन र मासु बिक्री गर्न  कोल्टी , पिलुचौर, धुलाचौर बेर्मा बजारमा बार्गेनिङ गर्दै किसानले डुलिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने कार्यक्रमको लक्ष्य रहेको  छ।

कार्यक्रममा पशु स्वास्थ्य उपचार, रोग नियन्त्रण, पशु प्राविधिक सेवा तथा आवश्यक परामर्शको व्यवस्था पनि समेटिनेछ । त्यस्तै, भेडा तथा बाख्राको मृत्युबाट किसानले ठूलो आर्थिक घाटा झेल्नु पर्ने अवस्थालाई घटाउन  पशुधन बीमाको व्यवस्था गर्ने योजना रहेको छ। केही दिन अघि  बाजुराको पर्यटकीय स्थल बडिमालिकाको काखमा रहेका बाडे पाटन, पोरखे , लामासिममा पुर्व अर्थमन्त्री  शाहीको पहलमा (KASA ) कासाको आयोजनामा भेडा  बाख्रा व्यवसायलाई प्रवर्द्धन  गर्नको लागि भेडा वाख्राको उनबाट निर्मित पहिरन लगाएर नेपालका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा  फेसन सो कार्यक्रम सम्पन्न  भएको थियो।

 

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर ५, २०८३ 00:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?