November 23, 2026 | सोमवार, मंसिर ८, २०८३

बाजुराको जुकोटमा बडादसैँमा बृहत् सांस्कृतिक मेला हुँदै, महिला–पुरुष देउडा र भलिबल मुख्य आकर्षण

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज २४, २०८३ 0२:0२
बाजुराको जुकोटमा बडादसैँमा बृहत् सांस्कृतिक मेला हुँदै, महिला–पुरुष देउडा र भलिबल मुख्य आकर्षण

सेतीकर्णाली खबर उमेश शाही

असोज २४ बाजुरा
कार्तिक १ गतेदेखि ३ गते नवमीको बिहानसम्म चौघानचौरमा देउडा खेल, व्यवस्थापनका लागि समिति गठन
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित चौघानचौरमा बडादसैँ–२०८३ को अवसरमा बृहत् सांस्कृतिक मेला आयोजना हुने भएको छ। जुकोटको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विगतका दसैँभन्दा फरक र बृहत् रूपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
असोज २३ गते शम्भु सुनन्दा माध्यमिक विद्यालयको प्राङ्गणमा स्थानीयवासी, अग्रज तथा युवाहरूको सहभागितामा दसैँ विशेष शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो। सोही बैठकले मेला सभ्य र भव्य रूपमा सम्पन्न गर्न विभिन्न निर्णय गर्दै जुकोट विजया दशमी तथा बृहत् सांस्कृतिक मेला व्यवस्थापन समिति गठन गरेको हो।
देउडा खेलाडी केन्द्र शाहीको संयोजकत्वमा मेला व्यवस्थापन तथा आयोजक समिति गठन गरिएको छ। मेघराज शाहीको संयोजकत्वमा १६ सदस्यीय समितिलाई सांस्कृतिक मेला व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी दिइएको जनाइएको छ।
महिला र पुरुष देउडासँगै भलिबल प्रतियोगिता
मेलाको मुख्य आकर्षणका रूपमा महिला तथा पुरुषका छुट्टाछुट्टै देउडा खेल र टोलस्तरीय भलिबल प्रतियोगिता रहनेछन्। कार्तिक १ गते बेलुकादेखि कार्तिक ३ गते नवमीको बिहान ९ बजेसम्म देउडा खेल सञ्चालन हुने आयोजकले जनाएको छ।
देउडा कार्यक्रममा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका चर्चित महिला तथा पुरुष देउडा खेलाडीहरूको प्रस्तुति रहनेछ। साथै, बझाङबाट चर्चित महिला देउडा खेलाडी केशरी बोहरालाई समेत आमन्त्रण गरिएको छ।
शम्भु सुनन्दा माध्यमिक विद्यालय, जुकोटका प्रधानाध्यापक तथा स्थानीयवासी पुष्प बहादुर शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिँदै मौलिक संस्कृति संरक्षण, स्थानीय प्रतिभाको सम्मान र दसैँलाई उल्लासमय बनाउन कार्यक्रम आयोजना गर्न लागिएको बताए।
जुकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउने लक्ष्य
जुकोटको दसैँको विशेष महत्त्व तथा बाइसी–चौबिसी राज्यको इतिहाससँग सम्बन्धित जुकोट राज्यको धार्मिक र सांस्कृतिक पहिचानलाई जोगाउनु मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ। विगतमा दसैँ मनाइँदै आएको परम्परालाई थप व्यवस्थित र उत्साहपूर्ण बनाउँदै देश तथा विदेशमा रहेका जुकोटवासीलाई समेत आफ्नो मौलिक संस्कृतिसँग जोड्ने लक्ष्य राखिएको छ।
मेलाले स्थानीयस्तरमा आपसी प्रेम, सद्भाव, भाइचारा र सामाजिक एकता बढाउनुका साथै देउडा संस्कृतिको गौरवलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।
आर्थिक सहयोगका लागि देश–विदेशमा रहेका जुकोटवासीलाई आग्रह
बृहत् सांस्कृतिक मेला सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने तयारीसमेत भइरहेको छ। कोष व्यवस्थापन समिति संयोजक गोरख शाहीले देश तथा विदेशमा रहेका युवा–युवती, कर्मचारी, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण जुकोटवासीलाई आर्थिक सहयोगका लागि अनुरोध गरिने बताए।
स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएकाले मेलालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको आयोजकको भनाइ छ।
सहभागी हुन सबैलाई निमन्त्रणा
बडादसैँको अवसरमा आयोजना हुने यस सांस्कृतिक उत्सवमा सहभागी भई कार्यक्रमको शोभा बढाउन सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा देउडाप्रेमीलाई आयोजकले निमन्त्रणा गरेको छ।
कार्यक्रमस्थल: शम्भु सुनन्दा माध्यमिक विद्यालयको प्राङ्गण, चौघानचौर, जुकोट, स्वामिकार्तिक खापर गाउँपालिका–३, बाजुरा।
कार्यक्रम अवधि: कार्तिक १ गते बेलुकादेखि कार्तिक ३ गते नवमीको बिहान ९ बजेसम्म।
आफ्नो मौलिक संस्कृति जोगाऔँ, देउडाको गौरव बढाऔँ र बडादसैँलाई प्रेम, सद्भाव तथा उल्लासका साथ मनाऔँ भन्ने सन्देशसहित जुकोटमा बृहत् सांस्कृतिक मेला आयोजना हुन लागेको हो।
सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज २४, २०८३ 0२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट