August 23, 2026 | आइतवार, भदौ ७, २०८३

एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच एकता, ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजना समिति गठन

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ७, २०८३ १५:२९
एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच एकता, ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजना समिति गठन

धनगढी, कैलाली — एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल शिक्षक संगठनबीच सुदूरपश्चिम प्रदेशमा एकता भेला सम्पन्न भएको छ। आज धनगढीमा आयोजित भेलाले दुई संगठनबीच एकता गर्दै नेपाल शिक्षक संगठन, सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना समिति गठन गरेको हो।
नेपाल शिक्षक संगठनका केन्द्रीय कार्यालय सदस्य हरि प्रसाद जोशीको अध्यक्षतामा बसेको भेलामा शिक्षक संगठनका विभिन्न तहका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेलाले दुई संगठनलाई एकताबद्ध गर्दै आगामी दिनमा शिक्षकहरूको हकहित, पेशागत अधिकार तथा संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेश अधिवेशनको तयारी अघि बढाउने निर्णय गरेको जनाइएको छ।
भेलाबाट हरि प्रसाद जोशीलाई इन्चार्ज तथा खड्क  मन्नी र दलबहादुर कार्कीलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ। त्यसैगरी मनोज रावललाई संयोजक र धनपति जोशीलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
प्रदेश अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ९९ सदस्यीय नेपाल शिक्षक संगठन, सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना समिति समेत गठन गरिएको छ। नवगठित समितिले प्रदेशभर संगठनको समन्वय, प्रतिनिधि छनोट, अधिवेशनको तयारी तथा आवश्यक सांगठनिक गतिविधिलाई अघि बढाउने जिम्मेवारी पाउनेछ।
भेलामा सहभागीहरूले शिक्षकहरूको पेशागत सुरक्षा, सेवा–सुविधा, गुणस्तरीय शिक्षा, शैक्षिक सुधार तथा शिक्षकका जायज माग र अधिकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए। शिक्षकहरूको पेशागत तथा सांगठनिक एकताले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न सकिने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।
दुई संगठनबीचको एकतापछि सुदूरपश्चिम प्रदेशमा शिक्षक संगठनको सांगठनिक आधार थप मजबुत हुने र प्रदेशस्तरमा शिक्षकका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नवगठित अधिवेशन आयोजना समितिले अब प्रदेश अधिवेशनका लागि आवश्यक सांगठनिक प्रक्रिया अगाडि बढाउनेछ। प्रदेशका विभिन्न जिल्लामा रहेका शिक्षक संगठनका प्रतिनिधि तथा सदस्यहरूलाई समेट्दै अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिने जनाइएको छ।
यस एकता भेलालाई शिक्षक संगठनको सांगठनिक एकता र आगामी कार्यदिशाका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ। दुई संगठन एकीकृत भएसँगै सुदूरपश्चिममा शिक्षकका साझा सवाल, पेशागत अधिकार र शैक्षिक सुधारका विषयमा थप सशक्त ढंगले आवाज उठाउने आधार तयार भएको आयोजकको भनाइ छ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ७, २०८३ १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट