August 1, 2026 | शनिबार, साउन १६, २०८३

नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, साउन १६, २०८३ 0६:४४
नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

 

सेतीकर्णाली खबर  श्रावण १६ काठमाडौं
“हाम्रो गौरव, हाम्रो सान; कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित नेपाली कला सांस्कृतिक प्रतिष्ठान को दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित चियापान तथा संस्थागत अन्तरसंवाद कार्यक्रम–२०८३ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न भएको छ।

कार्यक्रम प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्ल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय पूर्वमन्त्री, सुप्रसिद्ध लेखक तथा सर्जक, नेपाली भाषा, लोकसंस्कृति, कर्णाली र सिजा सभ्यताका विशिष्ट अध्येता माधव चौलागाईं रहनुभएको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा सडक डिभिजन कार्यालय साफेबगर, अछाम का डिभिजन प्रमुख, लेखक, समाजसेवी तथा बौद्धिक व्यक्तित्व इन्जिनियर बलिराज मल्ल तथा प्राज्ञ परिषद् सदस्य एवं कर्णाली कलाकार प्रतिष्ठानको लोकसंगीत विभाग प्रमुख तथा अध्यक्ष, लोकप्रिय गायिका टीका पुन को उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी कोषाध्यक्ष भावना खनाल अधिकारी ले गर्नुभएको थियो भने संस्थाका आजीवन सदस्य, सर्जक तथा गायक गोरबहादुर कार्की ले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष तथा प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्ल ले नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो। उहाँले प्रतिष्ठानले आज दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको सुखद अवसरमा चियापान तथा संस्थागत अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाली कला, संस्कृति, भाषा, साहित्य तथा मौलिक लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै कलाकर्मीलाई एकताबद्ध बनाउने, कलाकारितामा लामो समयदेखि योगदान पुर्‍याएका अग्रज व्यक्तित्वलाई सम्मान गर्ने तथा ओझेलमा परेका नयाँ प्रतिभालाई उचित अवसर प्रदान गर्ने पवित्र उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको हो।

दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रममा डेढ दर्जनभन्दा बढी विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेपाली कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि राज्य र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याउँदै आवश्यक सहयोग, सुझाव र सहकार्यका माध्यमबाट नेपालको सांस्कृतिक गौरवलाई अझ उचाइमा पुर्‍याउन सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न संघ–संस्था, स्रष्टा, कलाकार तथा सरोकारवालाबीच सहकार्य र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

  • सेती कर्णाली खबर
  • -