
सेतीकर्णाली खबर
उमेश जङ्ग शाही२९ माघ बाजुरा- उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा सम्पन्न भएको छ।
तालिम २०८२ साल माघ २७ गते एकदिने रूपमा सञ्चालन गरिएको हो। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको आयोजक शेर बहादुर केसीले सेतीकर्णाली खबर लाई बताउनु भएको छ।
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम जोन प्राबिधिक एकाइ कार्यालय पिलुचौर बाजुराले सो तालिमको आयोजना गरेको थियो ।
तालिममा स्याउ बालीमा उच्च घनत्व प्रविधि सम्बन्धी प्रशिक्षण दिपेश कठायतले दिनुभयो। त्यस्तै, स्याउ तथा ओखर बालीमा परागसेचन, फुल फुल्ने तरिका, यसको महत्व, फल टिप्ने विधि र उपयुक्त समयका विषयमा दिक्षा न्यौपानेले सहजीकरण गर्नुभयो।
कृषि संरचना निर्माणका आधारभूत जानकारी र उपयोगिताबारे नेत्र बोहरा, स्याउ/ओखर बालीमा काँटछाँट तथा तालिम प्रविधि सम्बन्धी अनिल शाहीले प्रशिक्षण दिनुभयो।
फल उत्पादनपछिको प्रविधि तथा पोष्ट हार्भेष्ट क्षतिन्यूनीकरण सम्बन्धी प्रशिक्षण शेरबहादुर केसीले दिनुभयो भने कृषि आधुनिकीकरण, कृषि यान्त्रिकरण र कृषि उद्यमशीलता विकास विषयमा कवि अवस्थीले प्रशिक्षण प्रदान गर्नुभयो।
त्यसैगरी, स्याउ तथा ओखर खेतीको इतिहास, नेपालमा विस्तार, जात, हावापानी, माटो र महत्व सम्बन्धी विषयमा समिर बुढाले प्रशिक्षण दिनुभयो। स्याउ–ओखरको विरुवा प्रशारण विधि सम्बन्धी प्रशिक्षण पनि शेरबहादुर केसीबाट दिइएको थियो।
स्याउ तथा ओखर बगैचा स्थापना, रेखाइन, सिँचाइ र मलखाद व्यवस्थापन सम्बन्धी प्रशिक्षण क्रमशः अन्जना पाण्डे र समिर बुढाले दिनुभएको थियो।
समापन कार्यक्रमको प्रमुख अतिथि कवि अवस्थी रहनु भएको थियो भने कार्यक्रम संयोजकत्व दिपेश कठायतले गर्नु भयो। कार्यक्रम संचालन शेर बहादुर केसीले गर्नु भयो । प्रशिक्षार्थी कृषकहरुबाट मयाप्रसाद तिमिल्सिनाले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनु भएको थियो भने २८ जना कृषकहरुलाई तिनदिने तालिमको प्रमाण पत्र बितरण गरिएको छ।
तालिमले स्थानीय कृषकहरूलाई व्यवसायिक स्याउ र ओखर खेतीतर्फ आकर्षित गर्ने तथा उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
