October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ १२, २०८० १५:४२
बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण हुने

बाजुरा,१२ जेठ : बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण गरिने भएका छन् । बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएको हो । यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएपछी बेलिब्रिज निर्माण गरिने भएको हो ।
बाजुरा निर्वाचन क्षेत्र (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित नरेशकुमार शाही सदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बनेपछि केन्द्रीय मन्त्रालयबाट पनि ताकेता आएको हो । बेलिब्रिज यसै वर्ष भित्र निर्माण गरिने बताइएको छ ।  सडक निर्माण भएर यातायात संचालनमा भएपनि वर्षातको समयमा यी खोलाहरुमा पक्की पुल नहुँदा यातायात सेवा बन्द हुने गरेको थियो । यी ३ वटै खोलामा बेलिब्रिज निर्माण हुने भएपछि सदरमुकाम मार्तडीसम्म बाह्रै महिना चल्ने यातायात संचालन हुने देखिएको छ ।
बेलिब्रिज निर्माणका लागि बाजुराका राजनीतिक दलहरुले लामो समयदेखि माग गर्दै आएका थिए । तर उक्त खोलाहरुमा बेलिव्रिज निर्माण भने हुन् सकेको थिएन् । बाउली अनाई, दानसाँघुमा बेलिब्रिज बने मार्तडी कोल्टी कवाडी सडक नियमित सञ्चालनमा हुने छ । भने भौनेरामा बेलिब्रिज निर्माण भए साँफे मार्तडी सडक अवरोध हुँदा पनि बैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने छ ।
तीन स्थानमा बेलिब्रिज निर्माणपछि जिल्ला सदरमुकाम मार्तडीबाट अन्य स्थानीय तहसँग जोडिएका ग्रामिण सडक पनि सञ्चालनमा रहने अवस्था छ । बेलिब्रिज (पुल) निमार्णका लागि जिल्ला र जिल्ला आसपासका जिल्लाहरुमा जगेडामा रहेका बेलिब्रिजलाई सो क्षेत्रमा लिई जोड्न संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्देशन समेत दिइसकेका छन् ।
हालसम्म पुल निमार्ण हुन नसकी सडक सञ्चालसँग नजोडिएका ठाउँमा तत्काल बेलिब्रिज निमार्ण गरी सडक यात्रालाई सहज बनाउने गरी मन्त्री स्तरीय निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पुल महाँशाखाका उपसचिव कृष्णराज अधिकारीले बताएका छन् ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाजुराका तीन वटै ठाउँमा बेलिब्रिज तत्काल निर्माण गर्न जेठ ३ गते मन्त्री स्तरको निर्णय गरेका थिए । सोही अनुरुप मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई असार मसान्त भित्रै ती ठाउँमा बेलिब्रिज निमार्ण गर्न निर्देशन दिएको बताएका छन् ।  यता सडक डिभिजन कार्यालय साँफेबगरका कार्यालय प्रमुख बस्नेतका अनुसार मन्त्रालयबाट नितिगत निर्णय भई परिपत्र आएको छ अब तत्काल प्रक्रियामा जाने बताएका छन् ।
त्यस्तै साँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने बल्दे अमकोट द्धारी वैकल्पिक मार्गमा यसै आव काम सम्पन्न गर्ने गरी गत वैशाख २० गते सडक डिभिजन कार्यालय साँफेवगरले ठेक्का आह्वान गरीसकेको छ । कुल लागत १ करोड २९  लाख ९५ हजार ३ सय २४ रुपैया ६६ पैसा रहेको छ ।
बाजुरामा केही वर्षदेखि कच्ची सडकबाट यातायातका साधान सञ्चालन भईरहेपनि यात्रा मौसमी हुदै आएको छ । पुल नभएका ठाउँमा बर्खा सिजनमा यातायातका साधान अवरुद्ध हुने गरेका छन् । कतिपय ठाउँमा आंशिकरुपमा यातायातका साधान सञ्चालन भएपनि खोलामा पुल नहुँदा बर्षादको बेला यहाँका स्थानीयले पैदल बाटाे हिडि रहेका  छन् ।
सडक बाजुरा बासीका लागि पहिलो समस्या बन्दै आएको छ । कच्ची बाटो मात्र नभई पुल अभावका कारण पक्की बाटो समेत अवरुद्ध हुने अवस्था बाजुरासँग छ । पुल निमार्ण हुने भए पछि यातायातका साधान नियमित हुने र वर्षा सिजनको यात्रा पनि सहज हुने देखिन्छ । सडक र पुल निमार्ण भए पछि वर्षेनी गाडी गुड्ने र मौसमी यात्राको अन्त्य हुनेप्रति नागरीकको अपेक्षा रहेकाे  छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ १२, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट