धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल चलाउने भन्दै निर्माण गरिएको चर्चले स्थानीय स–मिल सञ्चालकको पैसा नतिरेको पाइएको छ।
भवन निर्माण गर्न मनेहरामै रहेको कल्पना खड्काको अम्बिकेश्वर स–मिलबाट काठ ल्याइएकोमा त्यसको मूल्य नतिरेको स–मिल सञ्चालक खड्काले बताएकी छन्। आइतवार जिल्ला प्रशासन कार्यालयको टोली चर्चमा कागजात हेर्न गएको बेला चर्च परिसरमै भेटिएकी मिल सञ्चालक खड्काले पटकपटक ताकेता गर्दा समेत चर्चबाट पाउनु बाँकी रहेको ६५ हजार नपाएको गुनासो गरिन्।
मनेहराकै प्रेमसिंह रानाले चर्च राखिएको भवन निर्माणको ठेक्का लिएका थिए। रानाको करिब दुई महिना अगाडि निधन भएपछि आफूले पाउनुपर्ने रकम नपाएको खड्काले बताएकी छन्। चर्चमा आएर बाँकी रहेको पैसाको कुरा गर्दा पास्टर प्राशान्त राई भनिएका पेमे दोर्जे राईले आफूलाई तिर्नुपर्ने रकमबारे केही थाहा नभएको बताउने गरेको खड्काको आरोप छ।