बझाङ।
तलकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै योग्य लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ।
गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले आगामी असोज मसान्तभित्र आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई जैविक पहिचान (Biometric Verification) का आधारमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ। यसरी नवीकरण गरेपछि २०८४ असार मसान्तसम्म सामाजिक सुरक्षा भत्ता प्राप्ति सुनिश्चित हुनेछ।
नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर को आधारमा फिङ्गरप्रिन्ट वा आइरिस (Finger Print/Iris) उपकरण मार्फत जैविक पहिचान गरी प्रक्रिया पूरा गरिने गाउँपालिकाले जनाएको छ।
साथै, असोज मसान्तसम्म मात्र नवीकरणको समयसीमा रहेकाले वडा कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन सबै लाभग्राहीलाई समयमै सम्बन्धित वडा कार्यालयमा पुगेर नवीकरण गर्न गाउँपालिकाले आग्रह गरेको छ। यसका लागि सबै वडा कार्यालयलाई पनि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
यद्यपि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ५ अनुसार १६ वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त व्यक्ति तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक लाई लाभग्राहीका रूपमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुने व्यवस्था रहेको गाउँपालिकाले स्पष्ट पारेको छ।