
सेतीकर्णाली खबर
उमेश शाही फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय ।
कार्यक्रममा वैदेशिक रोजगारीका विभिन्न चरणहरू, सुरक्षित रूपमा विदेश जान आवश्यक तयारी, सही सूचना र सीप हासिल गर्ने विषयमा जानकारी दिइएको थियो। सहभागीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि गर्नुपर्ने मानसिक तथा आर्थिक तयारी, गन्तव्य मुलुकको जानकारी, म्यानपावर कम्पनी छनोट, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, बीमा तथा अन्य कानुनी प्रक्रियाबारे स्वामिकार्तिक खापार गाउपालिका रोजगार संयोजक महेन्द्र शाहीले प्रशिक्षण प्रदान गरेका थिय ।
वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वामिकार्तिक खापर गाउँपालिका रोजगार साखाबाट श्रम स्वीकृति , जीवन बिमा तथा कानुनी परामर्श सेवा प्रदान गर्दै आएको जानकारी समेत रोजगार संयोजक शाहीले जानकारी दिए।
यसका साथै गन्तव्य मुलुकमा पुगेपछि पालना गर्नुपर्ने कानुनी व्यवस्था, नेपाली दूतावाससँगको समन्वय तथा श्रमिकको अधिकारका विषयमा पनि जानकारी दिइएको कार्यक्रमका आयोजकले तथा स्वामिकार्तिक खापर गाउपालिका मनोसामाजिक परामर्शदाता पदम कठायतले सेतीकर्णाली खबरलाई बताए ।

स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका १८ जना यूवाहरुको सहभागिता रहेको थियो। स्वामिकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकायाले विदेशमा सिकेका सिपलाइ स्वदेशमा प्रयोग गरि रोजगारी सुरुवात गर्ने यूवाहरुलाई स्वामिकार्तिक खापर गाउपालिकाबाट प्रोत्साहन दिने आश्वासन दिएको प्रशिक्षार्थी लालचन्द शाहीले बताए।
Safer Migration Programme अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम Helvetas Nepal को सहकार्य तथा Swiss Agency for Development and Cooperation को सहयोगमा आयोजना गरिएको हो।
कार्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी सुरक्षित प्रक्रिया अपनाएर मात्रै विदेश जानुपर्नेमा जोड दिइएको थियो। आयोजकका अनुसार यस्तो कार्यक्रमले स्थानीय युवालाई सही सूचना दिई सुरक्षित आप्रवासनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


