सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख विनोद शाही, GIFT-Nepal, UNDP लगायत साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले हातमा धानको बिरुवा समाउँदै रोपाइँ गरे, देउडा गीत गाएर, नाचगान गर्दै र हिलो छ्यापाछ्याप गर्दै असार १५ लाई उत्सवको रूपमा मनाएका थिए।
खेतमा रोपाइँमा सहभागी स्थानीय महिलादेखि जनप्रतिनिधि र कर्मचारीहरूसमेत हिलोमा भिज्दै रमाएका थिए। यस अवसरमा कृषि उत्पादनको प्रवर्द्धन, खाद्य सुरक्षामा स्थानीय आत्मनिर्भरता र परम्परागत संस्कृति संरक्षणप्रति समेत विशेष जोड दिइएको २ नम्वर वडा अध्यक्ष विष्नु बुढाले सेतीकर्णाली खबरलाई जानकारी दिएका हुन।
उक्त कार्यक्रम Renewable Energy for Resilient Agri-Food System (RERAS) परियोजनाको सहयोगमा सम्पन्न गरिएको हो।
फोटोहरूले कार्यक्रमको उल्लास, सहभागिता र स्थानीयको उत्साहलाई स्पष्ट रूपमा झल्काउँछन्।