सेतीकर्णाली समाचार
उमेश जङ्ग शाही २५मंसिर बाजुरा– जिल्लाको उत्तर पुर्वि क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– सरिसल्ला सडक योजना कोल्टी बाजुराको २ करोड ३४ लाख ९७ हजार ६ सय ९९ रुपैयाँ लागतमा सो खोलामा बेलिबृज निर्माण हुन लागेको जनाएको छ । यो सडक मार्ग कर्णाली करिडोर अन्तर्गत पर्छ । बेलिब्रिजको सामान भने सडक डिभिजन कार्यलय नेपालगञ्ज बाट ल्याइएको थियो ।
सडक विभाग उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु– सलिसल्ला सडक योजना कोल्टीका सूचना अधिकारी अन्तराज शाहीले उक्त खोलामा ४८.८ मिटर लम्बाइको बेलिबृज बन्ने बताएका छन् । बेलिबृज निर्माणको भौतिक काम करिब ९० प्रतिशत सम्पन्न भइसकेकाले यहीँ मंसिर मसान्तसम्म निर्माण कार्य सबै सकिने सूचना अधिकारी शाहीले बताए ।
खुलालु– सरिसल्ला सडक योजना कोल्टीका अनुसार २०८१ बैशाखमा अजनेपनी जेभी काठमाण्डौंसँग १ करोड ९९ लाख २७ हजार १२ रुपैयाँमा २०८१ मंसिर ३० मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर काम तीव्र रुपमा भइरहेको जनाएको छ ।
कर्णाली करिडोर सडकखण्डमा रहेको उक्त खोलामा पुल नहुँदा वर्षातको समयमा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यताले सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् । खोलामा पुल नभएकै कारण बाह्रै महिना खोलाबाटै सवारी साधन वारपार गरि रहेका छन् ।
बेलिब्रिज निर्माण भएपछि बर्षातको समयमा पनि बाजुरा, हुम्ला, मुगुमा नियमित रुपमा यातायात सञ्चालन हुने भएका छन् । सामान ढुवानी सँगै आवतजावतमा समेत निकै सहयोग हुने भएको छ