बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् ।
नगरपालिका महिला तथा बालवालिका शाखाको समन्वय र २ नम्बर वडा कार्यालयको आयोजनामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो ।
वडामा रहेका महिला, किसोरीहरूको सकृयतामा परम्परागत छाउपडी गोठहरू भत्काएर घरभित्रै बस्न थालेपछि वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको महिला तथा बालवालिका शाखाकि प्रमुख केशरी रोकायले बताएकी छन् ।
छाउपडी गोठमुक्त घोषणाका लागि वडामा रहेका सबै टोलहरूमा महिला तथा बालवालिका शाखा र वडा कार्यालयको अगुवाईमा सयुक्त अनुगमन गर्दा वडामा रहेका राजनीतिक दल, किशोर किसोरी संजाल, बालक्लव, शिक्षक, शिक्षिका, धामीझाँक्री, पुरोहितहरूले छाउपडी प्रथा नमान्ने भनेपछि वडालाई छाउपडि गोठमुक्त वडा घोषणा गरिएको महिला तथा बालवालिका शाखाकी विन्दु बडालले बताएकी छन् ।
वडामा रहेका २ सय ७० घरधुरी बसोबास गर्ने गर्दछन्। ती सबै परिवारले छाउपडी महिला, किसोरीरूलाई घर भित्र सुरक्षित बस्न दिने खानपानमा विभेद नगर्ने, छाउपडी भएको बेला आराम गर्न दिने प्रतिवद्धता जनाएपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष डम्बरबहादुर महतले बताएका छन् ।
वडा नम्बर २ का वडा अध्यक्ष डम्बरबहादुर महतको अध्यक्षतामा संचालन गरिएको छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि बडीमालिकाका मेयर अमरबहादुर खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी दिलिप गिरी, शसत्र प्रहरी प्रमुख शंकर तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदमबहादुर सिंह लगायत स्थानीयहरूको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकी विन्दु बडालले गरेकि थिईन् ।
कार्यक्रममा छाउपडी सम्बन्धि जनचेतनामूलक देउडा खेल सहीत साँस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो। यस अघि बडिमालिका नगरपालिकाका ३,४,५,६,९ लाई छाउपडी गोठमुक्त वडा घोषणा भईसकेका छन् भने आगामी वर्ष ७ र ८ नम्बर वडालाई घोषणा गर्ने तयारी रहेको महिला तथा बालवालिका शाखाले जनाएको छ ।