बझाङ, जेठ २२ – बझाङ जिल्लाको फुटबल विकासका लागि ऐतिहासिक कदमस्वरूप पहिलो पटक ANFA Community Coaching Course सञ्चालन हुने भएको छ। बझाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रशिक्षण कार्यक्रमले जिल्लामा दक्ष फुटबल प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
बझाङ जिल्ला फुटबल संघले सार्वजनिक गरेको सूचनाअनुसार अखिल नेपाल फुटबल संघ (ANFA) को स्वीकृति तथा आवश्यक समन्वयमा आगामी असार १२ गतेदेखि १५ गतेसम्म केदारस्युँ गाउँपालिका–१ स्थित भँडार खेलमैदानमा प्रशिक्षण सञ्चालन गरिनेछ। जिल्लाको फुटबल इतिहासमै पहिलो पटक यस्तो अवसर प्राप्त भएको भन्दै संघले यसलाई बझाङको खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
संघका अनुसार फुटबलसँग प्रत्यक्ष रूपमा जोडिएका खेल शिक्षक, स्वयंसेवक प्रशिक्षक, खेलाडी तथा फुटबलप्रति रुचि राख्ने व्यक्तिहरूलाई प्रशिक्षणमा सहभागी हुन आह्वान गरिएको छ। प्रशिक्षणमार्फत आधारभूत प्रशिक्षकीय ज्ञान, खेलाडी व्यवस्थापन, प्रशिक्षण पद्धति, खेलका नियम तथा आधुनिक फुटबल प्रशिक्षणसम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिनेछ।
सूचनामा सहभागी हुन इच्छुक व्यक्तिहरूले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्ने उल्लेख गरिएको छ। आवेदन फाराम भरी आवश्यक कागजातसहित जेठ २१ गते साँझ ५ बजेसम्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ। आवेदन फाराम तोकिएको ह्वाट्सएप नम्बरमार्फत समेत पठाउन सकिने जनाइएको छ।
बझाङ जिल्ला फुटबल संघका कार्यक्रम संयोजक पुष्पलाल रोकाया ले जिल्लामा पहिलो पटक सञ्चालन हुन लागेको यो प्रशिक्षणले स्थानीय स्तरमा दक्ष प्रशिक्षक उत्पादन गर्ने तथा फुटबलको समग्र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले फुटबलप्रति रुचि भएका युवाहरू, खेलाडी तथा प्रशिक्षकहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्।
पछिल्लो समय बझाङमा फुटबलप्रति युवाहरूको आकर्षण बढ्दै गए पनि दक्ष प्रशिक्षकको अभाव महसुस हुँदै आएको थियो। स्थानीय स्तरमै प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यो तालिमले भविष्यमा जिल्लाबाट राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खेलकुद क्षेत्रका जानकारहरूका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमले केवल प्रशिक्षक मात्र उत्पादन नगरी खेल संस्कृतिको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीय तहमा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउँछ। त्यसैले बझाङमा पहिलो पटक हुन लागेको ANFA Community Coaching Course लाई जिल्लाको फुटबल विकासतर्फको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
जिल्ला फुटबल संघले प्रशिक्षण सफल बनाउन सबै सरोकारवाला निकाय, खेलप्रेमी तथा स्थानीय तहको सहयोग रहने अपेक्षा गरेको छ। बझाङमा फुटबलको भविष्य निर्माणका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ।