सेतीकर्णाली खबर
दोरेन्द्र खड्का ३ असार, बझाङ/जिल्लाको खेलकुद पूर्वाधार सुदृढीकरण र युवामा खेलकुदप्रति अभिरुचिलाई प्रोत्साहन गर्न पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशीको विशेष पहलमा बझाङ जिल्लाका दुई स्थानमा खेलमैदान निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
जोशीको सिफारिसमा कुचझोता खेलमैदान निर्माणका लागि ३ करोड रुपैयाँ र नाउकुन्टा खेलमैदान (जनपा/मष्टा) निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको हो।
जोशीले बझाङका युवाहरुमा रहेको अपार खेल क्षमता र स्वास्थ्य लाभलाई दृष्टिगत गर्दै संरचनागत विकासको खाँचोलाई सम्बोधन गर्न यो कदम चालेको बताउनुभएको छ। “संरचना बिना प्रतिभा मौलाउँदैन, हाम्रो प्राथमिकता अब पूर्वाधार निर्माण हो,” उहाँले भन्नुभयो।
यस बजेट विनियोजनसँगै दुबै खेलमैदानको पूर्वाधार निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा गरिएको छ। निर्माणपछि स्थानीय विद्यालय, खेलकर्मी, र युवाहरुलाई नियमित अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि सहजता पुग्ने विश्वास रहेकाे उहाले बताउनु भयाे । तेस्तै
बझाङ जिल्लाको जिल्ला समन्वय समितिको परिसरमा सभा हल निर्माणका लागि पनि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशीको पहलमा संघीय सरकारले उक्त बजेट विनियोजन गरेको हो। सभा हल निर्माणपछि जिल्लास्तरीय बैठक, अन्तरपालिका समन्वय, योजना निर्माण, नीति संवाद, तालिम तथा अन्य कार्यक्रम सञ्चालनमा थप सहजता हुने अपेक्षा गरिएको छ।