June 13, 2025 | शुक्रबार, जेष्ठ ३१, २०८२

काठमाडौं काे टाेखामा ७ राउण्ड गोली चल्यो

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २८, २०८२ १८:४८
काठमाडौं काे टाेखामा ७ राउण्ड गोली चल्यो

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूमाथि सोधपुछ गर्दा टोखास्थित ग्राण्डी अस्पताल पछाडि दुई जना खैरो हेरोइन बिक्री गर्न लागेको सूचना पाएको थियो।

उक्त सूचनापछि खोजी गर्दै जाँदा मंगलबार अपराह्न सवा ३ बजेतिर प्रहरी ग्राण्डी अस्पताल पछाडि पुगेको थियो। त्यहाँ स्पीकरभित्र लुकाएर राखेको दुई सय ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन खोजेको एसएसपी कोइरालाले बताए। तर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि फलामको रडले आक्रमण भएको थियो।

‘प्रहरीमाथि रड प्रहार गरे, त्यसपछि प्रहरीले गोली चलाएको हो। सुरूमा हवाई फायर गर्दा पनि नभएपछि कारोबारीमाथि गोली प्रहार गर्नुपर्‍यो,’ उनले भने। रड आक्रमणबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङको बायाँ घुँडा र प्रहरी सहायक हवल्दार रवीन्द्र केसीको दाहिने पाखुरामा चोट लागेको हो।

प्रहरीले सुरूमा चार राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर नियन्त्रणमा लिन खोज्दा उत्तेजित भई आक्रमण गरिरहेपछि आत्मरक्षाका लागि थप तीन राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको एसएसपी कोइरालाले बताए। प्रहरीले सुन्धाराबाट भारतको पठाना दानापुरका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दनकुमार जैसवाललाई नियन्त्रणमा लिएको थियो।
पछि टोखाबाट भारतको वेस्ट बंगालका ४० वर्षीय साशिक आलम र २२ वर्षीय मन्जुर आलमलाई पक्राउ गरेको हो। दुवै जनाको बायाँ खुट्टामा चोट लागेको छ। घाइतेको उपचारको लागि अस्पतालमा लगिएको छ। ब्युरोले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २८, २०८२ १८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?