January 17, 2026 | शनिबार, माघ ४, २०८२

प्रतिनिधिसभा निर्वाचनः बझाङमा नेकपाको उम्मेदवार कुवर

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ४, २०८२ 0८:२६
प्रतिनिधिसभा निर्वाचनः बझाङमा नेकपाको उम्मेदवार कुवर

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बझाङ जिल्लाबाट मीनबहादुर कुवरलाई आधिकारिक उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुवरलाई बझाङ प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीको टिकट प्रदान गरेका हुन्।
नेकपाका केन्द्रीय सदस्य जनक बुढाका अनुसार कुवरले पार्टी संयोजक प्रचण्डको हातबाट औपचारिक रूपमा उम्मेदवारीको टिकट प्राप्त गरेका हुन्। टिकट हस्तान्तरणका क्रममा संयोजक प्रचण्डले कुवरलाई निर्वाचन सफलताको शुभकामना दिँदै बझाङको समग्र विकास, जनताको अपेक्षा र भावी राजनीतिक मार्गचित्रबारे स्पष्ट निर्देशन तथा सुझावसमेत दिएका थिए।
टिकट प्राप्त गरेपछि उम्मेदवार कुवरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बझाङका सम्पूर्ण परिवर्तनकारी आदरणीय जनतासमक्ष चुनाव चिन्ह ‘तारा’ मा मतदान गरी आफूलाई विजयी गराइदिन विनम्र अपिल गरेका छन्। उनले बझाङको विकास, सुशासन, सामाजिक न्याय र जनमुखी राजनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उल्लेखनीय छ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण हुँदा कुवर बझाङ जिल्लाको नेकपा अध्यक्षसमेत बनेका थिए। पार्टी संगठन निर्माण, जनआन्दोलन र स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका कुवरलाई अनुभवी र जनआधार भएको नेताका रूपमा हेरिएको छ।
यसैबीच, नेकपाका केन्द्रीय सदस्य र युवा नेता रन्जित तामाङलाई पनि संयोजक प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारको टिकट दिएका छन्। टिकट प्राप्त गरेपछि तामाङले पनि सामाजिक सञ्जाल र सार्वजनिक सन्देशमार्फत मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गरी जनसेवाको अवसर दिन अपिल गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभर राजनीतिक सरगर्मी बढ्दै गएको छ। विभिन्न राजनीतिक दलहरूले उम्मेदवार टुंग्याउने क्रम तीव्र बनाइरहेका बेला नेकपाले पनि संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्रता दिएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ४, २०८२ 0८:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट