
सेतीकर्णाली खबर
उमेश जङ्ग शाही २९मंसिर बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म?
सडक स्तरोन्नति बिना ठूला बस चलाउन अनुमति कसले दियो? जोखिमपूर्ण खोल्सा र अस्थायी ट्र्याकमै यात्रु बोक्न बाध्य बनाउने नीति कसको हो? वर्षौँदेखि बजेट छुट्याइएको भनिन्छ, तर सडक किन आजसम्म मृत्युको पासो बनेको छ?
सस्तो लोकप्रियता कमाउन २/३ पटक बाजागाजा सहित बस मार्तडी देखि कोल्टी सम्म बस गुडाएको पनि देखियो। तर सडकको अवस्था ध्यान नदिएको देखिन्छ। बुढिनन्दा नगरपालिकाको बिशेष पहलमा बस कोल्टी पुर्याएको हो। मुगु, हुम्ला र बाजुरा कुन्ना क्षेत्रका चारवटा स्थानिय तहका नागरिकलाई सुबिधा त भयो त्यो भन्दा बढि जोखिम मल्नु परिरहेको यात्रु लोकेन्द्र नाथले सेतीकर्णाली खबरलाई बताए ।
मार्तडी कोल्टी सडकखण्ड पक्कि बनाउने ठेक्का पाएको ठेकेदार भागेर सडक अलपत्र छ।बाजुराका सञ्चारमाध्यमले दबाब दिएपनि सरोकारवाला निकाय जनप्रतिनिधि मौन बसेको देखिन्छ।
गरिब नागरिक उपचार, शिक्षा र दैनिक जीविकाका लागि यही सडक प्रयोग गर्न बाध्य छन्। वैकल्पिक बाटो छैन, हवाई सेवा सबैका लागि सम्भव छैन। यस्तो अवस्थामा “सडक बनाउँदैछौं” भन्ने आश्वासन मात्रै काफी हुन्छ? अकालमा ज्यान जानु विकासको मूल्य हो त?
जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र सम्बन्धित निकाय सवारी फसेपछि मात्रै स्थलमै पुग्छन्, तर स्थायी समाधान कहिले? दुर्घटना भएपछि मात्रै बैठक बस्ने र फेरि मौन बस्ने प्रवृत्ति अब स्वीकार्य छैन।
यदि आज पनि कोल्टी–मार्तडी सडकको स्तरोन्नति प्राथमिकतामा परेन भने भोलि हुने दुर्घटनाको जिम्मेवारी कसले लिने? अर्को बस झुन्डिँदा, अर्को गरिबको ज्यान जाँदा दोष कसको हुने?
अब माग स्पष्ट छ— अस्थायी टालटुल होइन, पूर्ण स्तरोन्नति, पक्की नाला–पुल र सुरक्षित सडक। विकासको नाममा नागरिकको ज्यान सस्तो नठानियोस्।
सडक बनोस्, गरिब बाँचून्।
