September 7, 2026 | सोमवार, भदौ २२, २०८३

गाउँमै स्वास्थ्य सेवा र अर्गानिक तरकारी खेती गर्दै शाही, युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरणा

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ २२, २०८३ 0५:0२
गाउँमै स्वास्थ्य सेवा र अर्गानिक तरकारी खेती गर्दै शाही, युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरणा

सेतिकर्णाली खबर

उमेश जङ्ग शाही भाद्र २२  बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्।
जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन उनले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर पनि स्थानीयको घरदैलोमै पुगेर सेवा दिइरहेका छन्।
स्वास्थ्य सेवासँगै शाहीले गाउँमै तरकारी खेतीसमेत गर्दै आएका छन्। उनले उत्पादन गरेको अर्गानिक तरकारीले आफ्नै परिवारको आवश्यकता पूरा गर्नुका साथै बाँकी रहेको तरकारी नजिकैको पिलुचौर बजारमा बिक्री–वितरण गर्दै आएका छन्।
केही वर्ष अघिसम्म जुकोट गाउँका स्थानीयले पिलुचौर बजारबाट टमाटरलगायतका तरकारी किनेर गाउँमा लैजाने अवस्था थियो। तर अहिले भने त्यही जुकोटमा उत्पादन भएको तरकारी गाउँमा बिक्री गरेर बाँकी रहेको तरकारी करिब २ घण्टाको बाटो पिठ्युँमा बोकेर पिलुचौर बजारमा बिक्री गर्न लैजाने कामको सुरुवात शाहीले गरेका छन्। स्थानीयका अनुसार जुकोट गाउँबाट यसरी उत्पादित तरकारी बोकेर बजारमा बिक्रीका लागि लैजाने काममा उनी गाउँकै पहिलो व्यक्ति हुन्।
शाहीको यो पहलले गाउँमै उत्पादन गर्न सकिने कृषि उपजका लागि बाहिर निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न सकिने सन्देशसमेत दिएको छ। आफ्नो मेहनत र लगनशीलताबाट गाउँमै स्वास्थ्य सेवा र कृषि पेसालाई सँगसँगै अगाडि बढाइरहेका शाही स्थानीय युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।
उनी गाउँका युवाहरुलाई पनि “स्वदेशमै केही गर्न सकिन्छ, स्वरोजगार बन्नुपर्छ, रोजगारीका लागि विदेश जानैपर्छ भन्ने सोच त्याग्नुपर्छ” भन्दै कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा लाग्न सल्लाह दिने गर्छन्।
स्वास्थ्य सेवासँगै कृषि कर्मलाई पनि सम्मानका साथ अघि बढाएका शाहीको भनाइमा, आफ्नै गाउँमा मेहनत गर्ने हो भने परिवारको आवश्यकता पूरा गर्न मात्र होइन, उत्पादन बिक्री गरेर आम्दानीसमेत गर्न सकिन्छ।
जुकोटमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका अहेव शाहीको कृषि कर्मले गाउँमै स्वरोजगारको सम्भावना देखाएको छ। उनको यो प्रयासले स्थानीय युवालाई कृषि, पशुपालन तथा अन्य उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

  • सेती कर्णाली खबर
  • -