September 1, 2026 | मङ्लबार, भदौ १६, २०८३

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको कहर : ५१ परिवार प्रभावित, ९४ जनाको उपचार, विद्यालय बन्द

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ १६, २०८३ 0७:२१
बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको कहर : ५१ परिवार प्रभावित, ९४ जनाको उपचार, विद्यालय बन्द

 

सेतीकर्णाली खबर  भाद्र  १६ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का चार बस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। वारिबगर, घट्ट, छुद्धरी र बालुवाका ५१ भन्दा बढी परिवार प्रभावित भएका छन् भने हालसम्म ९४ जना बिरामीको उपचार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
लगातारको वर्षाका कारण खानेपानीको पाइप खोलाले बगाएपछि स्थानीयवासी दूषित खोलाको पानी प्रयोग गर्न बाध्य भएका थिए। त्यसपछि बस्तीमा ज्वरोका बिरामी बढेको स्वास्थ्य शाखा प्रमुख पारसबहादुर शाहीले बताए।
बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, नाकबाट पातलो सिँगान बग्ने तथा हातखुट्टा र जोर्नी दुख्ने लगायतका लक्षण देखिएका छन्। अवस्था नियन्त्रणमा लिन गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
बालबालिका र वृद्धवृद्धा बढी प्रभावित
भाइरल ज्वरोबाट बालबालिका, महिला तथा वृद्धवृद्धा बढी प्रभावित भएको गाउँपालिका स्वास्थ्यकर्मि भक्त कैलाले बताएका छन्। दूषित खानेपानी संक्रमणको प्रमुख कारण देखिएपछि गाउँपालिकाले नयाँ पाइपको व्यवस्था गरी सुरक्षित खानेपानी उपलब्ध गराउने काम थालेको छ।
ज्वरो फैलिएपछि विद्यालय बन्द
भाइरल ज्वरोका कारण विद्यार्थी र शिक्षकसमेत बिरामी भएपछि छुद्धरीस्थित गंगा आधारभूत विद्यालय एक सातादेखि बन्द छ। बिरामी विद्यार्थी तथा शिक्षक निको भएपछि मात्र विद्यालय सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -