बझाङको बुङल नगरपालिकामा आइतबार आयोजित एक विशेष कार्यक्रममा विभिन्न दल परित्याग गर्दै दर्जनौँ नेता–कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
आज एक कार्यक्रमका बीच बुङल नगरपालिका वडा नं. १० का रमेश बहादुर बोहरा नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। त्यस्तै २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित दलित महिला सदस्य गीता देवी कामीले पनि नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी रोजेकी छन्।
यसैगरी हर्क बहादुर पताली, नेपाली कांग्रेस परित्याग गरेका मोहन बोहरा, बिमल बोहरा लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गरेका हुन्। नयाँ प्रवेशीहरूले देश र जनताको हितका लागि आफूहरूले नयाँ राजनीतिक यात्राको सुरुवात गरेको बताएका छन्।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता धन बहादुर बोहराले नवआगन्तुकहरूलाई टीका–माला सहित स्वागत गर्दै पार्टी सुदृढीकरणमा उनीहरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे। उनले बुङल नगरपालिकामा पार्टीको जनाधार दिनानुदिन मजबुत बन्दै गएको दाबी गरे।
नवप्रवेशी नेताहरूले विगतका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा नेपाली कम्युनिष्ट पार्टीलाई रोजेको स्पष्ट पारे। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पछिल्लो समय बुङल नगरपालिकामा विभिन्न दलका प्रभावशाली व्यक्तित्वहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने क्रम बढ्दै गएको देखिएको छ, जसलाई राजनीतिक विश्लेषकहरूले आगामी चुनावी समीकरणसँग जोडेर हेरेका छन्।
यस पार्टी प्रवेश कार्यक्रमले बुङलको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ।