October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुत्केरी र गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख २२, २०८१ १६:२२
सुत्केरी र गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र  स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । दश दिनकी गर्भवती महिला कार्कीलाई उच्च ब्लड प्रेसरका कारण थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थय केन्द्रबाट रिफर गरिएको डाक्टर प्रतिक न्यौपानेले बताएका छन् । उनका अनुसार कार्कीको ब्लड प्रेसर नघटेको र दैनिक रुपमा बढ्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएपछि रिफर गरेको बताए ।

डाक्टर न्यौपानेका अनुसार गर्भवती महिला महतराको पहिलो सन्तान पाउने बेला पनि अप्रेसन गरेको र दोस्रो सन्तान समेत अप्रेसन गर्नुपर्ने भएकाले जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको भनाई रहेको छ । सुत्केरी र गर्भवती महिलाको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिएका छन् ।

उनले दिएका जानकारी अनुसार स्वास्थ्य संस्थाले अवस्था जटिल भएको पत्र पठाएपछि मन्त्रालयसंग समन्वय गरेर हेलिकप्टर मार्फत सुत्केरी र गर्भवती महिलाको उद्धार गरिएको बताए । सेनाको हेलिकप्टरमा दुई जना महिलालाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ ।
जिल्लामा राष्टपति महिला उत्थान कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।  उक्त कार्यक्रम लागु भएदेखि हालम्म ३० जना बढी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भइसकेको छ ।

  • सेती कर्णाली खबर
  • -