October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ २२, २०८० 0९:२२
बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बाजुरा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवसमा कालोपट्टी बाँधेर विरोध जनाउदै स्वा प्रवाह गरेका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते शुक्रबार निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको भएपनि दिवस नमनाएर कालोपट्टी बाँधेर विरोध गरेका  छन् ।
निजामती सेवा दिवस मनाउने बारे स्थानीय तहलाई प्राप्त पत्रपछि स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा तथा वृतिविकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिएको अवस्थामा कर्मचारीहरु विच विभेद भएको हुँदा निजामती सेवा दिवस नमनाएको बडीमालिका नगरपालिकाका कर्मचारी युनियनका अध्यक्ष शंकर खड्काले बताएका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवसका दिन विरोध स्वरुप कालोपट्टी बाँधी विरोध जनाएको नगरपालिकाका कर्मचारी गोपाल महतले जानकारी दिएका छन् । स्थानीय कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामित सेवा दिवस नमनाउने निणर्य गरेको बडीमालिका नगरपालिकाका प्रशासन शाखा प्रमुख पसष्पराज भट्टले बताएका छन् ।
संघीय निजामती सेवा ऐन नभई एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई दोहोरो सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय प्रणालीका आधारमा हुनुपर्ने, अन्तरप्रदेश तह अन्तरप्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा र वृतिविकासमा सवैलाई समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगायतका माग राखेका छन् ।
स्थानीय तहका कर्मचारीहरुका मागहरु सम्बोधन नभए राज्यको आधारका रुपमा रहेको स्थानीय तहमा कामकाज र सेवा प्रवाह ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
नेपालमा हरेक वर्षको भाद्र २२ मा देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइदै आएको छ ।

  • सेती कर्णाली खबर
  • -