काठमाडौं । समय एकनाशले चल्दैन, नेता र नीतिले असन्तोष घटाउने–बढाउने काम गर्छ । विश्वको कुनै पनि सेना अनुशासनको बलले चलेको हुन्छ ।
दुःख दिने, रासन, तलब–भत्ता, पदोन्नति र अन्य सुविधामा गडबड गर्दाको अवस्थामा सैनिकहरूले हाकिमको आदेश पालना नगरेको साथै भौतिक आक्रमण (मन्डीेले छोपेर कुटेको) अनेकौँ इतिहास छ ।
यस्तै एउटा विद्रोह कोत पर्व मार्फत जंगबहादुर राणाको उदय र राणा शासनको शुरुआत भएको हो । नेपाली सेनाको गठनपश्चात् गोर्खाका लखन थापाले राणाविरोधी क्रियाकलाप गरेबापत मृत्युदण्ड भोग्नुपरेको थियो ।
दोस्रो विश्वयुद्धताका सहयोग गर्न बबरसमशेरको नेतृत्वमा गएको फौजले अंग्रेजले दिएको थप तलब–भत्ता हिनामिना भएको निहँुमा कमाण्डरहरूलाई हातपात गरेका थिए । उक्त फौज फर्किएपछि थानकोटतिर बस्ने थापा मगर थरका जमदारलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो ।
२००९ सालमा पुनर्गठित नेपाली सेनाले राज्यसत्ता कब्जा गर्ने खालको विद्रोहलाई साथ दिएको घटना २०३१ सालको ओखलढुंगा काण्ड थियो । नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा ओखलढुंगास्थित गुल्मका केही जवानले ब्यारेक कब्जा गर्न सघाउने योजना बनाएको सूचना पहिल्यै चुहिएपछि ओढारमा लुकी बसेका कति कांग्रेसी कार्यकर्ता मारिए भने कप्तान यज्ञबहादुर थापालाई पक्राउपश्चात् थानकोटमा गोली हानी मारियो ।
भूपू जर्नेल बाबुकृष्ण कार्कीका पिता तत्कालीन हवल्दारलाई पनि महिनौँ हिरासतमा राखी उल्टो झुण्ड्याएर घण्टौँ हात खुट्टाको नङमा सियो घोप्ने, खाडल खनी घाँटीसम्म पुरेर नजिक नजिक गोली हानी तर्साउने जस्तो चरम यातना दिइएको थियो ।
सेनामा अधिकृत तथा हाकिमविरुद्ध भएका विद्रोह र मण्डी परेडमध्ये ०३६ सालको धनगढी काण्ड निकै चर्चित छ । बोराडाँडी ब्यारेकमा तैनाथ बर्दबहादुर गण प्रमुख धर्मपालवरसिंह थापा राजा वीरेन्द्रको सवारी क्याम्प सुर्खेत खटिएको बेला सेनानी अर्जुनविक्रम शाहकी श्रीमती र सालीहरूले उरालेर भदौको गर्मीमा धेरै दिन सजायँ दिएपछि करिब ४० जवानले बङ्गलामा राइफलको संगीनसमेत बोकी हमला गरेको र ट्वाइसीका सारा परिवारले नजिकको बैंकमा शरण लिनु परेको थियो, पछि छानबिन र कोर्टमार्शल हुँदा १२÷१५ जवान जेल गए भने त्यत्तिकै संख्याको जागिर गयो । अर्जुनविक्रम पनि जागिरबाट बर्खास्तमा परे ।
०४८ सालतिर तत्कालीन युगोस्लाभियामा शान्ति स्थापनार्थ गएको गण प्रमुख प्र.से. धनबहादुर आलेले यूएनले छुट्याएको पूरा डलर नदिएको हल्ला चलेपछि भर्खर देशमा बहुदल आएको हावाले छोएका जवानहरूले झण्डै २ महिना हडतालका साथै अधिकृतहरूको आदेश अवज्ञा गरेका थिए ।
सो घटनामा सिपाही राम गिरी मुख्य नेता भएको ठहरसहित जेल चलान भए भने धेरै जवान र गणपतिको जागिर गयो । सोही समय लेबनान गएको शान्ति सेनामा पनि जवानहरूले विभिन्न माग राखी ४ दिनसम्म चक्काजाम र भान्सा बन्द गरेको हल्ला चल्यो ।
तत्कालीन गणपति दीपकविक्रम राणाको चलाखी र प्रधानसेनापति गडुलसमशेर राणाको कृपाले धन्न यो प्रकरण अघि बढ्न पाएन र घटना त्यत्तिकै सेलायो । भूपूप्रधानसेनापति अर्जुननर्सिङ राणाको ज्वाइँ गणपति भएको भैरव दल गण भरतपुरमा तैनाथ हुँदा ०५० को दशकमा जुगेडी सामूहिक तालिमको समापन पार्टीकै बीच जवानहरूले अधिकृतहरूमाथि ठूलो मण्डी परेड र क्याप्टेन राजकुमार बस्नेतको मोटरसाइकल जलाइदिएका थिए । उक्त घटनाको छानबिनपछि ८÷१० जना जेल चलान र ४ जना अधिकृत बर्खास्त भए ।
०४०÷४१ सालतिर जोमसोममा ड्युटी गुल्मको जिम्मेवारी लिएका उपसेनानी सुन्दर पुडासैनी (सुपु) लाई पनि आर्थिक हिनामिना गरेकोमा जवानहरूले रातारात ब्यारेकबाट लखेटेका थिए । जोमसोममै ०५५ सालमा गुल्मपति रहेका सेनानी चित्र चन्दलाई हातपात गरिरहने, रकम हिनामिना गर्ने, सरकारी टेलिफोन प्रयोग गर्दा पैसा उठाई गोजीमा हाल्ने गरेबाट जवानहरूले परेड गरी रातारात लखेटेका थिए, पछि सैनिक अदालतले गुल्मपति सेनानीलाई घटुवा ग¥यो भने केही दोषी जवानलाई सेवाबाट बर्खास्त गरेको थियो ।
एकदिन काठमाडौँ सीतापाइलास्थित फेरेड कार गुल्मका सेनानी राजेन्द्र कार्कीलाई क्वार्टर गार्डमा ड्युटी रहेका जवानले सलामी दिएनन्, यही निहुँमा कार्य अधिकृतलाई बोलाई कोर्ट गार्ड ड्युटी टोलीलाई ठीक पार्ने आदेश हुँदा क्याप्टेन देवेन्द्र खड्काले जवानहरूलाई भैंसी जसरी चुटेपछि जवान जम्मा भई सवारी साधन र अधिकृत मेस तोडफोड गर्नुका साथै क्याप्टेन देवेन्द्र खड्कामाथि मण्डी परेड गरिएको थियो । यस प्रकरणमा सैनिक अदालतले देवेन्द्र खड्कालाई एक तह घटुवा र ५ जवानलाई २ वर्षसम्म जेल पठाउने फैसला सुनायो ।
त्यस्तै, नेपाली सेनामा रिसको पोको भनेर चिनिएका नलिञ्चोकवासी सेनानी लक्ष्मण खत्रीलाई सानो कुरामा पनि कुटपिट गरिरहने गर्दा जवानहरूले रातको समय मण्डीले छोपेर रामधुलाइ गरेका थिए । कोर्ट मार्शल हुँदा सेनानी लक्ष्मण खत्री डिमोसन भए ।
अहिले परिस्थिति फरक छ, कम्बलले छोपेर कुट्ने भन्दा पनि लिखित गुनासो पोख्ने अवसर र मिडियाका कारण हाकिम र जवानबीच कुटाकुटसम्म हुने गरेको छैन ।