February 4, 2026 | बुधबार, माघ २२, २०८२

कोल्टी आधारभूत अस्पतालमा सफल सिजेरियन शल्यक्रिया, आमा र शिशु दुवै सुरक्षित

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ २१, २०८२ १७:१४
कोल्टी आधारभूत अस्पतालमा सफल सिजेरियन शल्यक्रिया, आमा र शिशु दुवै सुरक्षित

सेतीकर्णाली खबर

महेश कार्की कोल्टी
 माघ २० बाजुरा — हिमाली जिल्ला बाजुराको बुढिनन्दा नगरपालिका–स्थित कोल्टी आधारभूत अस्पतालमा सिजेरियन सेक्शन (CS) सफलतापूर्वक सम्पन्न भएको छ। जटिल अवस्थाकी एक गर्भवती महिलाको सुरक्षित शल्यक्रिया गरिएपछि आमा र नवजात शिशु दुवैको अवस्था सुरक्षित रहेको अस्पतालका सुचना अधिकारी प्रेम नेपालिले जानकारी दिएका छ्न ।
उक्त शल्यक्रिया MDGP डा. रञ्जित शाहको नेतृत्वमा सम्पन्न भएको हो। शल्यक्रिया टोलीमा BN एनेस्थेसिया ललबाबु यादव,स्टाफनर्स चन्दकुमारी दानी र अ.न.मि बिमला बुढा लगायत अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीको सहभागी रहेको अस्पताल प्रशासन सहायक इन्द्र सुनारले बताएका छ्न । समयमै गरिएको अप्रेसन गरेका कारण सम्भावित जटिलता टरेको र आमा–शिशुको ज्यान सुरक्षित राख्न सफल भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
सफल उपचारपछि सम्बन्धित परिवारले गहिरो खुसी व्यक्त गर्दै दुर्गम क्षेत्रमा समेत यस्तो सेवा उपलब्ध हुनु आफूहरूका लागि ठूलो राहत भएको प्रतिक्रिया दिएका छन्।
दुर्गम भौगोलिक अवस्था, सीमित स्रोत–साधन तथा चुनौतीपूर्ण कार्यपरिस्थितिका बाबजुद स्थानीय तहमै सिजेरियनजस्ता जटिल सेवा उपलब्ध हुनु स्वास्थ्य प्रणालीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले अनावश्यक रेफरल घटाउनुका साथै बिरामी परिवारको आर्थिक बोझ र समयको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवा व्यक्ति विशेषभन्दा पनि समग्र प्रणालीसँग जोडिएको विषय भए पनि, आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय मानिन्छ। यस्ता सफल शल्यक्रियाले सेवाग्राहीमा विश्वास बढाउनुका साथै स्थानीय अस्पतालप्रतिको भरोसा समेत थप मजबुत बनाएको छ।

  • सेती कर्णाली खबर
  • -