February 17, 2026 | मङ्लबार, फाल्गुन ५, २०८२

फेरिँदै पिलुचौर बजारको मुहार, व्यापार, धर्म र पर्यटनको संगमस्थल बन्दै

  • सेती कर्णाली खबर
  • शनिबार, पुस १९, २०८२ 0३:५४
फेरिँदै पिलुचौर बजारको मुहार, व्यापार, धर्म र पर्यटनको संगमस्थल बन्दै

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही १९ पौष बाजुरा। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा अवस्थित पिलुचौर बजार पछिल्लो समय व्यापार, धर्म र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कर्णाली नदीको तटमा अवस्थित यो बजार कुन्ना क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित हुनथालेको छ।
पिलुचौर बजार धार्मिक दृष्टिले विशेष महत्व राख्दछ। यहाँ प्रत्येक वर्ष शिवरात्री र माघी संक्रान्तिका अवसरमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ। देउरा शिवालय तथा आर्यघाटमा श्रद्धालु भक्तजनहरूले कर्णाली नदीमा स्नान गरी प्रिति पूजा गर्ने परम्परा रहँदै आएको छ।
बाजुरा विमानस्थल कोल्टी नजिकै रहेकाले हवाईमार्गबाट कोल्टी पुग्ने अधिकांश यात्रु तथा तीर्थालुहरू पिलुचौर आइ पिलु , देउरा शिवालय र पादुका कैलाशद्वारको दर्शन गर्ने गरेको पुजारी मस्टिप्रसाद उपाध्यायले सेतीकर्णाली खबरलाई जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय दर्शनार्थीको संख्या बढ्दै गएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पिलुचौर क्षेत्रमा कर्णाली नदी र बड्डिगाड नदीको संगमस्थल, झोलुङ्गे पुल तथा हरियालीले सजिएको भू–भागले पर्यटकलाई आकर्षित गरिरहेको छ। कर्णाली नदीमा जलयात्रा (र्याफ्टिङ) ले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
पर्यटक तथा आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै पिलुचौर बजारमा सुविधासम्पन्न होटल तथा भोजनालयको समेत व्यवस्था गरिएको छ। यहाँ कर्णाली प्लाजा, ब्रदर्श रेष्ट्रो, कैलाश होटल, शाही होटल, वसन्त होटल, लक्ष्य प्राप्ति होटल, स्टाफ होटल र दाजुभाइ खाजाघर सञ्चालनमा रहेका छन्।
कोल्टी–मार्तडी राजमार्ग र कर्णाली करिडोरको संगमस्थलमा अवस्थित पिलुचौर बजार यातायातका दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। स्वामिकार्तिक खापर गाउँपालिकाको केन्द्र नजिकै रहेकाले प्रशासनिक, व्यापारिक तथा सामाजिक गतिविधि यही क्षेत्रमा केन्द्रित हुँदै गएको छ।
स्थानीयवासीका अनुसार पूर्वाधार विकास, धार्मिक स्थल संरक्षण र पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिइए पिलुचौर बजार निकट भविष्यमा कर्णाली क्षेत्रकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।

  • सेती कर्णाली खबर
  • -