June 11, 2025 | बुधबार, जेष्ठ २९, २०८२

बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग गर्ने

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २६, २०८२ १७:३४
बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग  गर्ने

बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ ।
ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।
आइतबार गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पारस बहादुर शाहीले जारी गरेको प्रेस विज्ञप्तीमा आगलागी भएको क्षतीको दुःख व्यक्त गर्दै पिडितलाई सो रकम दिने प्रतिवद्धता जनाएको उल्लेख छ ।
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गरेको छ ।
समितिले सिद्धार्थ बैंकमा खाता संचालन गरी सोही खातामा रकम जम्मा गरेर अग्नी पिडितलाई राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताएका छन् ।
राहत कोषमा अन्य पालिका र विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने थालेको छन् । आगलागीबाट ठुलो नोक्सानी भएकाले सबैलाई सहयोगमा लागि राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँले अपिल गरेका छन् ।
उनले बाम्का बजार पुरानै अवस्थामा ल्याउनका लागि निर्माण कार्यमा पनि जुटेको बताए । एक महिनाभित्र टहराहरु निर्माण गरी बजार संचालनमा आउने गरी काम सुरु गरिएको नगर प्रमुख तथा राहत कोष व्यववस्थापन समितिका संयोजक बानियाँको भनाई रहेको छ ।
गएको शुक्रबार बाम्कामा रहेको नवदुर्गा होटलबाट ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३१ पसलहरु जलेर पूर्ण रुपमा क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीबाट सात पसल भने आंशिक रुपमा क्षती भएका छन् ।
आगलागीबाट करोडौंको क्षती भएको छ । क्षतिको विवरण अझै आउन सकेको छैन । आगलागी पिडितका लागि शनिबार बुढीनन्दा नगरपालिकाले एक लाख नगद सहयोग गरेको छ । भने आइतबार बुढीगंगा नगरपालिकाको ४४ औं कार्यपालिका बैठकले पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । बाम्कामा भएको आगलागीबाट पिडितहरुका लागि दैनिक रुपमा सहयोग रकम जुट्न थालेको छ ।

  • सेती कर्णाली खबर
  • -