April 7, 2025 | सोमवार, चैत्र २४, २०८१

शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरु

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र २४, २०८१ १0:५६
शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरु

बाजुरा—बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् ।

जिल्लाको त्रिवेणी, बुढीगंगा नगरपालिका तथा स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न आग्रह गरेका छन् ।

त्रिवेणी नगरपालिकाले २२ चैत्रमा शिक्षामन्त्रीलाई पत्र लेख्दै शिक्षकहरुका मागमा पूर्ण समर्थन रहेको भन्दै तत्काल माग सम्वोधन गर्न अनुरोध गरेको थियो ।

त्यस्तै सोमवार बुढीगंगा, स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले पनि शिक्षकको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै माग पूरा गर्न शिक्षामन्त्रीलाई पत्राचार गरेको छ ।

हालसम्म पनि शिक्षा ऐन जारी नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु २० चैतबाट अनिश्चितकालीन आन्दोलनमा रहेका छन् ।

त्यस्तै सो आन्दोलनबाट विद्यालयका नियमित कामकाज सहित पालिकाहरुमा भर्ना अभियान तथा शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभावित भएको पत्रमा उल्लेख गरेका छन् ।

पालिका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरित पत्रमा पालिकामा शैक्षिक सत्र २०८२ को भर्ना अभियान शैक्षिक क्यालेण्डर अनुसार सञ्चालन गर्न नसकेको उल्लेख गरेका छन् । त्यस्तै यसले विद्यार्थीहरुको पठनपाठनमा दिर्घकालीन असर पर्ने भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरुमा समर्थन सहित यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण सिर्जना गरी दिन पालिकाहरुले अनुरोध गरेका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आजबाट आम शैक्षिक हड्ताल समेत घोषणा गरेका छन् ।

  • सेती कर्णाली खबर
  • -