October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ २२, २०८० 00:२४
बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेग बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्।

बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी उनी बिहीबार नदेखिएपछि घरमा जाँदा मृत फेला परेको स्थानीयले बताएका छन् । मृत भेटिएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ।

स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन्। उनी लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन्। शाहीको मुगु नखर्चीमा विवाह भएको थियो। श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन्।

आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले शाही घरभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए।

शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ।

‘उनको शरीर, अनुहारमा निलडाम छैन, घाँटीमा डोरी बाँधिएको छ। घटना अलि शंकास्पद छ। पोस्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुसन्धान हुनेछ, अहिले पहिलो चरण अनुसन्धान भइरहेको छ,’ उनले भने।

आफन्त तथा स्थानीयले अनुसन्धान गरी हत्यारा पत्ता लगाउन माग गरेका छन्। छिमेकीहरूको घरभन्दा टाढा भएको हुनाले रातको समयमा घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ।

उनले घरमै सानो पसल सञ्चालन गरेकी थिइन्।

  • सेती कर्णाली खबर
  • -