October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खप्तड छेडेदह गाउँपालिकामा ६ सय ७५ अस्थायी आवास निर्माण

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन २६, २०८० १२:५७
खप्तड छेडेदह गाउँपालिकामा ६ सय ७५ अस्थायी आवास निर्माण

बाजुरा- खप्तड छेडेदह गाउँपालिकामा भुकम्प पिडितका लागि ६ सय ७५ अस्थायी आवास निर्माण गरिएका छन् ।

गाउँपालिकामा गत असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि ९ सयबढि अस्थायी आवास निर्माण भइरहेका छन् ।गत मंसिरमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भुकम्पबाट प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत अस्थायी आवास निर्माणका लागि रकम पठाएको थियो ।

खप्तड छेडेदह गाउँपालिकामा भुकम्पबाट ९ सय ६६ परिवारका घर पूणर्रुपमा भत्किएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा भुकम्प पिडित परिवारलाई अस्थायी आवास निर्माण गर्नका लागि पहिलो किस्ता दिएर अहिले धमाधम अस्थायी टहरा निर्माण भइरहेका खप्तड छेडेदह गाउँपालिका रोजगार संयोजक लोकराज जोशीले बताएका छन् ।

गाउँपालिकामा निर्माणाधिन ९ सय ६६ मध्ये ८ सय ४३ जनालाई पहिलो किस्ता वाफत् रकम पठाइएको उनले बताए । पालिकामा अहिलेसम्म ६ सय ७५ अस्थायी आवास निर्माण भइसकेका छन भने बाँकी निर्माणाधिन चरणमा रहेको रोजगार संयोजक जोशीले बताए ।

असोज १६ गते गएको भुकम्पबाट बाजुरा जिल्लाभर सबैभन्दा बढि खप्तड छेडेदह गाउँपालिकामा नै क्षति भएको छ । बाजुरामा भुकम्पबाट प्रभावित १ हजार ९ सय १८ परिवारका लागि गत मंसिर ४ गते राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता वाफत् १४ करोड रुपैयाँ जिल्लामा पठाएको थियो । तर भुकम्पका कारण अन्य जिल्लामा धेरै क्षति भएकोले त्यस क्षेत्रमा भुकम्प प्रभावितका लागि तत्काल थप रकम निकाशा दिनुपर्ने भन्दै मंसिर २५ गते १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न प्राधिकरणले जिल्ला प्रसाशन कार्यालय बाजुरालाई पत्राचार गरेको थियो ।

बाजुरामा पनि भुकम्प प्रभावितलाई पहिलो किस्ता निकाशा गर्न रकम कम हुने भन्दै प्राधिकरणले १० करोड फिर्ता मागेपनि बाजुरा प्रसाशनले ८ करोड रकम मात्रै फिर्ता गरेको थियो ।

  • सेती कर्णाली खबर
  • -