October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

उपेन्द्र यादवलाई सरकारमै ल्याउने प्रचण्डको चाहना

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख २१, २०८० 0७:३३
उपेन्द्र यादवलाई सरकारमै ल्याउने प्रचण्डको चाहना

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरे भने नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ लिँदैछन्
सरकारमा जसपा नेपालले पनि एक जना मन्त्री पठाउन बाँकी छ । तर यसबारे अझै जसपा नेपालले निर्णय गर्न सकिरहेको छैन । मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । तर अध्यक्ष यादवले सरकारमा आफै जाने कि अरूलाई पठाउने भन्नेबारे अझै मुख खोलेका छैनन् ।
प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सरकारमा आफै जाने कि अरूलाई पठाउने भन्ने पत्रकारको जिज्ञासामा उनले कसलाई पठाउने भन्नेबारे पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।
जसपाका प्रवक्ता मनिष सुमनले अघिल्लो बैठकबाट मन्त्री र मन्त्रालयको बारेमा सम्पूर्ण निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष यादवलाई दिइसकेको र अध्यक्षले गर्ने निर्णय नै सर्वस्वीकार्य हुने बताए । ‘अध्यक्षजीलाई नै सबै जिम्मेवारी दिइसकेपछि प्रवक्ताको हैसियतमा मैले थप यसमा प्रतिक्रिया दिइरहनु पर्ने आवश्यकता छैन,’ उनले भने ।हाल जसपा नेपालबाट सरकारमा अशोक राई सहभागी छन् । उनले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बाँकी एक जनाको कोटामा अब जसपाले मधेसबाट प्रतिनिधित्व गर्नेलाई पठाउने लगभग निश्चित छ ।
त्यसमा राजकिशोर यादव, प्रदीप यादव, डा.वीरेन्द्र महतोमध्ये एक जना हुन सक्ने चर्चा चलिरहेको समयमा अध्यक्ष यादव आफैँ सरकारमा सामेल हुन्छन् कि भन्नेबारे पनि चासो बढेको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई शक्तिशाली बनाउन जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै सरकारमा आउन प्रस्ताव गरेका छन् ।
जसपाका एक नेताले  भने, ‘प्रधानमन्त्री प्रचण्डले हाम्रो अध्यक्षजीलाई नै सरकारमा आउन भन्नुभएको छ तर उहाँ जानु हुन्छ कि जानु हुन्न, त्यो उहाँले निर्णय गर्ने कुरा हो ।’
यदि अध्यक्ष यादवले मन्त्री बन्न नचाहेको भए अहिलेसम्म कोही न कोही मन्त्री बनिसकेको हुन्थ्यो भन्ने ती नेताको तर्क छ । अध्यक्ष यादवले आफू सरकारमा जाँदा ठिक हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गरिरहेका कारण पनि मन्त्री पठाउन ढिलो भएको हुन सक्ने उनको आकलन छ ।
पार्टीकै केही सांसद तथा नेताले अध्यक्ष यादवलाई सरकारमा जान सुझाव दिइरहेका छन् भने कपितयले भर्खर उपचुनाव जितेर आएका कारण सरकारमा नजाँदा नै बेस हुने सुझाव दिइरहेका छन् । तर अध्यक्ष यादवले त्यसबारे अझै कुनै निर्णय लिइसकेका छैनन् ।

  • सेती कर्णाली खबर
  • -